कविता - मदनको पाइला

आमा!

म पनि जाउँ कि क्या हो ?

खाडीतिर उँट चराउन ।



याहाँ लोडसेडिङमा

जीवनको अँधेरो पालेर बस्नुभन्दा

याहाँ महँगीमा

मनको चाहनाहरु मारेर बाँच्नुभन्दा

सामान खोज्ने भीडमा सामान कम भएको अनुभूतीले

आफ्नै आफन्तहरुबाट अपहेलित हुनु भन्दा

लुसुक्कै छिरुँ कि क्या हो मरुभुमीतिर ?



सँगैका दौंतरीहरु

युरोप अमेरीका पुगीसकेछन्

बँकिँघम प्यालेस, लोटस टेम्पल, दुबई बुर्ज

नियाग्रा फल्स, पेन्टागन, ह्वाइट हाउस र न्युयोर्क शहरलाई

पृष्ठभूमी पारेर शानले खिचेको फोटो देख्दा

तिम्रो छोरा आफ्नो टीठ लाग्दो वर्तमान नियाल्दै

कुरूप भविश्य सम्झेर

कति छटपटीन्छ

के थाहा तिमीलाई ?



साँच्चै आमा !

विहान बेलुकीको दालभात जोहो गर्दै

कैलेसम्म बाँच्ने

यो टालटुले जिन्दगी ?



सेतै फुलेकी बुढी आमा

जूनजस्ती प्राण प्यारी मुनालाई छोडेर

मदनले भोटको बाटो किन ततायो ?

म अहिले चाल पाउदैछु ।



माफ गर आमा !

तिम्रो छोरा पनि न/चाहेर

मदनको पाइला पछ्याउदैछ ।





तिब्वत दर्लामी

काभ्रे
कविता - मदनको पाइला कविता - मदनको पाइला Reviewed by Swopnil Sansar on 1:39 AM Rating: 5

No comments:

Tibbat Darlami. Powered by Blogger.