कविता: आमासँग आत्मालाप !

आफ्नै मनसँग भुनभुनाउदै

यि अक्षरहरुको काव्यिक हरफ बुन्दै

आज तिमीसँग

आत्मालाप गर्दैछु आमा

सायद

मलाई सुन्दैछौ तिमीले

तिम्रो मनले/धड्कनले ।



उ...त्यो पहाडमा

कति उमँगका गुँराशहरु फुल्दै झरे होलान्

कति दुःखको पहिरो गयो होला

कति विपत्तीको डढेलो लाग्यो होला ।

विचरा त्यो पहाडलाई

कति धेरै चराहरुले चटक्कै छाडेर गयो होला ?

त्यो पहाडको भन्दा कम छैन

तिम्रो दुःख पीरका सुस्केराहरु

आमा तिमीले नि

त्यै पहाडसँग मितीनि लाए हुन्छ

तिमीहरु दुबै उस्तै-उस्तै:अटल/अडिग ।



समयको निष्ठुरी छालले हुत्याउदा

तिमीबाट टाढा–टाढा हुँदोछु

खै समयलाई पनि के दोष दिनु हगी ?

म आफ्नै बैंशालु चाहनाको पखेटा हालेर

बेथानचोक डाँडा माथी–माथी उड्दै

यो विरानो शहरमा विस्थापित हुन आईपुगेँ

अव नि आमा !

सुनकेशरी रानीको कथा सुन्दै

तिम्रो काखमा फुसफुस्ती निदाउन पाउँला ?

तिम्रो काखमा बसेर

जून मामासँग निश्फिक्री कुरा गर्न पाउँला र ?

अव नि आमा !

रिठ्ठे धामीको मेलाबाट

जोगाएर ल्याएकी खाजा–भुटेको मकै र जुनेलो

तिम्रो पोल्टाबाटै दाइ दिदीसँगै

खोसोखोस गर्दै खान पाउँला ?



ओहो...!

अढाई दशक उमेरको समुहले

मलाई युवाको पगरी गुथाईसकेछ

यो काठमाण्डौ खाल्डोमा बसेर

तिम्रो ध्वाँसे छोरा-अमेरिकातिर घाँटी तन्काउदैछु

तिम्रो सिँगाने छोरा-युरोपको सपना बुन्दैछु

तिम्रो सिकुटे छोरा-विश्व परिक्रमा कल्पिदैछु ।



तिमी पत्याउ या नपत्याउ आमा!

उही तिम्रो ध्वाँसे/सिँगाने/सिकुटे म माइला छोरा

यो ब्यस्त शहरको एउटा कुनामा बसेर

भर्चुअल दुनियाँका

उत्तरआधुनिक अराजक ठिटीहरुलाई

आँखा झिम्काउने भैसकेछु

सत्य !



~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

तपाईको अमुल्य सल्लाह-सुझाव अनि गाली-तालीको भोकले ग्रसित उहीः-तिब्वत दर्लामी

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
कविता: आमासँग आत्मालाप ! कविता: आमासँग आत्मालाप ! Reviewed by Swopnil Sansar on 1:36 AM Rating: 5

No comments:

Tibbat Darlami. Powered by Blogger.