कविता: मैच्याङहरुको वस्तीमा

-तिब्वत दर्लामी
साल्धारा, काभ्रे

---------------------------------------------------------------------------

गुराँशे सपनाका गोरेटो हुँदै
धुपी सल्लाका पाखाहरुमा
सुसेली हाल्दै
एक दिन
तिमी फर्केर आउनेछौ
मैच्याङहरुको वस्तीमा
यही ग्रामिण थुम्कीहरुमा ।

मनको खुल्ला आकाशमा
लुकामारी खेल्दैछन् विश्वासको घाम–जून
टल्किदैछन् चम्किदैछन् आस्थाका ताराहरु
विछ्याएको छु यि नजरहरु पारी क्षितिजमा
तिमी झुल्कने सुन्दर विहानीको प्रतिक्षामा ।

भत्काउन सक्छु म
तिमीलाई छेक्ने तगारोहरु
पन्छाउन सक्छु म
तिमीलाई दुःखाउने निलकाँडाहरु
तिमी निशँकोच आउनु
तिमी निश्फिक्री आउनु ।

प्रिय शान्ती !
तिमी आउदा सँगै लिएर आउनु
तिम्रो साथी सँविधानलाई
तिमी विनाको अधुरो म –विकास
पर्खी बस्दैछु
मैच्याङहरुको वस्तीमा
यही ग्रामिण थुम्कीहरुमा ।



---------------धन्यवाद---------------------
कविता: मैच्याङहरुको वस्तीमा कविता: मैच्याङहरुको वस्तीमा Reviewed by Swopnil Sansar on 1:44 AM Rating: 5

No comments:

Tibbat Darlami. Powered by Blogger.