कविताः यानीमाया

हिजो,
जलजलाको चिसो पानीले
भोक प्यास मेट्दै
रोल्पा रुकुमका भीर–पाखामा
बमगोला र बारुदसँग मितेरी गाँस्दै
परिवर्तन र मुक्तिका सपनाहरु सँगाल्दै
युद्घका हर मोर्चामा
अग्र पँक्तिमा देखिन्थे
मेरी यानीमाया ।

उनैले त हो नि मेरी आमालाई
बारुद पिस्न सिकाएकी
उनैले त हो नि मेरी दिदीलाई
बन्दुक चलाउन सिकाएकी
उनैले त हो नि मेरी बैनीलाई
परेड खेल्न सिकाएकी ।
हो...,
उनैले हो...
हरेक ढुकढुकीमा आशा रोपेकी ।
उनैले देखाएकी गणतन्त्रको सपना
पुरा भैसक्यो आज
उनैले देखाएकी सँघियताको सपना
पुरा हुनेवाला छ भोली ।

आज,
विडम्बना..!
क्यान्टोनमेन्टबाट
अयोग्यताको लाहा छाप भिरेर
साथी सहेलीसँग
रातो गुलाब साट्दै
आँशुले गला भिजाउदै
घर फर्किरहेकी
उही मेरी यानीमायालाई देख्दा
मन कुँडिएको छ मेरो,
भक्कानिएको छ ।
अब तपाई भन्नुहोस्
के मेरी यानीमाया
साँच्चै अयोग्य हुन् ???

तिब्वत आगन्तुक दर्लामी
३फेब्रुअरी,२०१०
कविताः यानीमाया कविताः यानीमाया Reviewed by Swopnil Sansar on 1:29 AM Rating: 5

No comments:

Tibbat Darlami. Powered by Blogger.